काठमाडौं । चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए ।यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएर खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँ सहयोगमा परियोजनाहरु निर्माण भएका थिए । त्यसैको निरन्तरता स्वरुप यो सम्झौता भएको उनले बताए ।त्यस्तै, चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोग सम्बन्धी सम्झौता पनि भएको छ । यो सम्झौताअन्तर्गत कति नगद सहयोग प्राप्त हुने भन्ने चाहिँ खुलेको छैन ।‘बजेटरी सहायताअन्तर्गत आउने यो रकम सरकारले आफ्नो कोषमा राखी आफ्नो आवश्यकताअनुसार खर्च गर्न पाउनेछ,’ प्रमुख शर्माले बताए ।
यसका अतिरिक्त चीन सरकारसँग नेपालसँग सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी एमओयू पनि भएको छ । यो एमओयूमा कति रकम नेपालले प्राप्त गर्ने भन्ने उल्लेख नभए पनि त्यसरी प्राप्त हुने रकम अनुदान नै हुने विषय उल्लेख भएको सहसचिव शर्माले बताए ।साथै, चीनले लामो समयदेखि निर्माणको प्रतिबद्धता गरेको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि सघाउने भएको छ । यससम्बन्धी समझदारीपत्रमा पनि नेपाल र चीनबीच हस्ताक्षर भएको छ ।
असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । तर, अहिलेसम्म पनि परियोजनाको सम्भाव्यता अध्ययन हुन सकेको छैन ।आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भने नेपाल गर्नुपर्नेछ ।साथै, नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने सम्बन्धी समझदारी पनि भएको छ । बाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार चीनको प्रस्तावमा व्यापार प्रवद्र्धनमा पारस्परिक सहयोगसम्बन्धी सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर भएको हो ।सन् २०१६ मै नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता गर्ने सहमति भए पनि हालसम्म त्यो हुन सकेको छैन । प्रधानमन्त्रीको चीन भ्रमणमा क्रममा स्वतन्त्र व्यापार सम्झौता भने एजेन्डामै थिएन ।