Ekhab4r
लुम्बिनी लायन्समाथि पोखराको पहिलो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ ।

ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए ।पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपीएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो ।लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए ।लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update