काठमाडौं। जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा एकै ओभरमा तीन विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए। ओपनरद्वय आसिफ शेख र अनिलकुमार साहले ४८ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुआत दिलाएका थिए। १० बल खेलेका आसिफ दुई चौका र एक छक्कासहित १६ रनमा आउट भए।
तर, कप्तानसमेत रहेका अनिलले लाहिरू मिलान्थासँग ४७ रनको अर्को साझेदारी गर्दै टोलीलाई ११।३ ओभरमा २–९५ को स्थितिमा पुर्याएका थिए। अनिल अर्धशतक प्रहार गर्न पाँच रनले चुके। ३९ बलमा एक चौका र चार छक्कासहित ४५ रन प्रहार गरेका उनी आउट भएसँगै जनकपुरले ब्याटिङमा संघर्ष गर्न परेको हो। १३औं ओभरको दोस्रो बलमा लाहिरू २४ रनमा पभिलियन फर्किए। सोही ओभरको चौथो बलमा हर्ष ठाकर एक रनमा आउट भए। अन्तिम बलमा जेम्स निसम पनि एक रनमै आउट भए। तीन जनै ब्याटर अभिषेक गौतमको बलमा आउट भएका हुन्।