काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ नभएकाे पाइएकाे छ ।
महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन गरिरहेको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गत कार्तिक २९ गतेदेखि सुनधारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो ।सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।
उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको भेटिएको छ । मसला राख्ने भाँडा फोहर,भान्छाको भुईँमा पानी जमेर फोहर भेटिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । यसैगरी डस्टविनको उचित प्रयोग नभएको, पकाएका खानेकुरा खुला राख्ने गरिएको, मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको भेटिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको र किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।
त्यस्तै फ्रिज सफाइ नगरी फ्रिजमा अटुन्जेल सामान कोचेर राखिएको, त्यहाँ राखिएको अचार र मसलामा लेवल नराखिएको भेटिएको छ । मसला राख्ने भाँडा, मःम बनाउने टेबल र मेसिन, भाँडा माझ्ने ठाउँ फोहर भेटिएको छ । व्यक्तिगत सामान भान्छामा राखिएको, मूल्य सूची नराखिएको लगायतका कमजोरी अधिकांश मःम पसलमा पाइएको छ । यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको महानगरले जनाएको छ ।