काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा ओपनिङ ब्याटर हसन इशाखिलको अर्धशतकको मद्दतमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोड्यो।चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले १६औं ओभरमा स्कट कुगेलेइनको बलमा नरेश बुढाऐरबाट क्यान हुनुअघि ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे। अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए। उनी चौथो ओभरमा ब्रान्डन माक्मलेनको बलमा बुढाऐरबाटै क्याच भएका थिए।
विकेटकिपर ब्याटर विपिन रावलले १७ रन जोड्न सके। सइफ जाइब बलमा कुगेलेइनबाट क्याच हुँदा उनले २० बलमा २ चौका प्रहार गरे। १८औं ओभरमा कप्तान कुशल मल्ल १३ रनमा कुगेलेइनबाट क्याच भएका थिए। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच हुनुअघि रवी बोपाराले १८ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए। बलिङमा कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १-१ विकेट लिए। सुदूरपश्चिमले यसअघिका तीन खेलमा जित निकालेको छ भने चितवन तीन मध्ये दुई खेलमा विजयी भएको छ।