काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाएका हुन् । उनले भने,‘यसमा सच्चाइको एउटा सानो अंश पनि छैन् । त्यस्तो धन्दामा रमाउने साथीहरुलाई मेरो आग्रह छ–मनको लड्डु घिउसँग खानुहोस् । यो भन्दा थप भन्नु पर्ने केही छैन् । यस्तो खालको अविश्वासनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन् । ’उनले आफूहरु सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै त्यसैलाई पन्छाउने कोशिसमा सरकार रहेको बताए । अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा सरकार रहेको उनको भनाइ छ ।
उनले भने,‘हामी सरकारमा आउँदै गर्दा विरासतमा केही बोझहरु थिए । समस्याको चाङ थियो । त्यसलाई पन्छउँदै जाने काम गरिराखेको छौं । क्रमशः विद्यमान चुनौतीहरुलाई, समस्याहरुलाई विस्तारै– विस्तारै पन्छाउने कोशिस गरिरहेका छौं । हिजो बैंकको ब्याजदर बढि भयो भन्ने गुनासो थियो, सिंगल डिजिटमा झार्न सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ । हामी उत्पादकत्व वृद्धि ,रोजगारी सृजनालगायतका क्षेत्रमा काम गरिरहेको छौ । अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा हामी लागेका छौं ।’