काठमाडाै । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका छन्। मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका मानिसले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताएका हुन्।
‘सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भइरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होइन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन्।’ उनले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार नभएको बताएका छन्। ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ,’ उनले भने।
दुई दल मिलेर बनेको सरकार संविधानको रक्षाका लागि सरकारलाई स्थायित्व दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि बढाउने, मुलुकको समृद्धिका लागि सरकार निरन्तर लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको उनले बताए। गृहमन्त्री लेखकले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको बताए। ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, सम्झौता अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ।
’ प्रदेशस्तरीय सुरक्षा परिषदको वैठकमा सहभागी हुन सुर्खेत आएको गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षामा धेरै चुनौती नभएको बताए। आत्महत्या, लागुऔषध, सवारी दुर्घटना कर्णालीका प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको र यसको समाधानका लागि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइएको उनले बताए। संघीयतापछि पनि प्रदेश बाहिर रहेका नेपाली प्रहरी लगायतका कर्णालीका केही महत्वपूर्ण संरचना सार्ने प्रयास भइरहेको उनले बताए। यसका लागि आवश्यक जग्गा प्राप्तिका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने उनले बताए।