काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ ।
पोखराले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गरेको हो । बिहीबार भएको खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको हो ।विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौ बलमा सन्दीपले १ रन खर्चिए । अन्तिम बलमा सन्दीपले फेरी १ रन खर्चिए ।
यसका साथै विराटनगरले १९ रनको लक्ष्य पायो । १९ रनको लक्ष्य पछ्याउन विराटनगरले मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिएका थिए । पोखराले बलिङमा रेमन राइफर आएका थिए । पहिलो बलमा मार्टिन गप्टिलले १ रन लिए । दोस्रो बलमा किर्तनले पनि १ रन मात्र लिए ।तेस्रो बलमा फेरी १ रन लिए । चौथो बलमा किर्तनले डट बल खेले । पाँचौ बलमा किर्तनले १ रन लिए । पाँचौ बल रेमनले वाइड दिए । र अन्तिम बल डट राख्दै पोखरा सुपर ओभरमा विजयी भयो ।त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएल इतिहासकै यो पहिलो सुपर ओभर हो ।अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए ।
दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । ११औं ओभरको तेस्रो बलमा ओपनर गौस प्रतिशको बलमा जिशीको बलमा आउट भए । गौस २७ बलमा ७ चौकाको ३९ रन बनाए । गौस बासिर अहमदबाट समातिएका थिए । कप्तान कुशल भुर्तेलले ३४ बलमा ३१ रन जोडे ।चौथो विकेटका रुपमा कप्तान कुशल ३१ रन बनाएर क्रिस सोलको बलमा आउट भए । पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाउँदै प्रतिस जिशीको बलमा आउट भए । दिनेश अनिल खरेलद्वारा समातिएका थिए ।तेस्रो विकेटका रुपमा पोखराले जेन मल्लिकलाई ४ बलमा प्रतिस जिशीले बोल्ड आउट गरे । विराटनगरका लागि प्रतिस जिशीले ३ तथा क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने विकेट विहिन रहे । ४ ओभरमा २१ रन खर्चिएका सन्दीप प्रतियोगिताको चौथो खेलमा समेत विकेट बिहिन रहे ।
सन्दीपले लुम्बिनी लायन्सविरुद्ध मात्र विकेट लिन सफल भएका थिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । एडवार्डस कुशल भुर्तेलको एलबिडब्लु सिकार भए ।बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । ओपनर लोकेसले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर लोकेस राइमन राइफरद्वारा कट एण्ड बोल्ड भए । पहिलो खेलमा अर्धशतक बनाए पनि त्यस पछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए । गप्टिल सागर ढकालको बलमा बोल्ड आउट भएका थिए ।प्रतियोगितामा पहिलो पटक बलिङ गरेका दिनेश खरेलले पहिलो बलमा नै नरेन भट्टलाई आउट गराए । ४ रन बनाउँदै नरेन सागर ढकालबाट क्याच आउट भए । चौथो विकेटका रुपमा विराटनगरले निकोलस किर्तनलाई आउट गराए । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए ।
आजको खेलमा पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । लुम्बिनी लायन्स बुधबार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जित हात पारेको थियो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।