Ekhab4r
केपी ओलीले मेराे बदनाम गर्ने खाेज्नुभयाे : बामदेब

 काठमाडौं। राष्ट्रिय सभाका सदस्‍य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले  आफुलाई बदनाम गर्ने खाेजेकाे  आरोप लगाएका छन् । उनले आज विज्ञप्ति जारी गरी सो आरोप लगाएका हुन् ।

गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले बामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए । मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले बताएका थिए ।

ओलीले सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो । तर म चुप लागें । अब म बुढो पनि भइसकें, जेसुकै भए पनि मलाई केही छैन । त्यसकारण म कुरा भन्दैछु भनेर मेरै (ओलीकै) स्वरमा छ, अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्दैऊ तिम्रो ठूलोबालाई भनेर । कुराचाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश ठानेर कुरा गर्दै हुनुहुन्थ्यो।’

 

 

ओलीले थप भनेका थिए, ‘कमरेड के छ हालखबर भनें । ठिकै छ भन्नुभयो । कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ– प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’राजेश बज्राचार्य ओलीको स्वकीय सचिव हुन् ।

यही प्रसंगमा बामदेव गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले राजेश बज्राचार्यसँगै कुरा गरेको तर ओलीले बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।ओलीको फोन नलागेपछि आफूले राजेशलाई फोन गरेको भन्दै बामदेवले लेखेका छन्, ‘…त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरें, उहाँले कल रिसिभ गर्नुभयो र सदाझैं नमस्कार कमरेड भन्नुभयो । त्यसपछि मैले उहाँलाई भनें– एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ ।’

योभन्दा बढी आफूले एक शब्द पनि नबोलेको भन्दै बामदेवले लेखेका छन्, ‘फोन नम्बर राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’बामदेवले आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती समेत दिएका छन् । उनले लेखेका छन्, ‘क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update