काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।
चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए ।दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए । जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो ।
चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनका लागि सोहेल तन्भिरले २ तथा रवि बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १ विकेट लिए ।लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीवार खेल्नेछ ।