काठमाडाै -सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज बाहिरिएको छ। लिग चरणमा तेस्रो हुँदै प्लेअफमा पुगेको चितवन इलिमिनेटरको खेलमा बुधबार कर्णाली याक्ससँग २१ रनले पराजित हुँदै बाहिरियो। प्रतियोगितबाट बाहिरिएपछि उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजना भएको एनपिएलको प्रशंसा गरे। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहिसकेका भारतका पटवालले पहिलो वर्षमा नै एनपिएलले ठूलो चर्चा कमाएको बताए।‘यो सुरुवात मात्रै हो। पहिलो वर्षमै स्टार स्पोर्ट्स आएको छ। यति धेरै चर्चा पाएको छ। अति धेरै अपेक्षा गर्नु पनि 'अति लोभी' हुनुजस्तै हुन्छ। एक्सपोजर यसरी नै मिल्दै जाने हो भने केहीले पनि रोक्न सक्दैन,’ पटवालले भने।
उनले एनपिएल नेपाली क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भएको बताउँदै क्यान र सचिव पारस खड्कालाई धन्यवाद दिए। उनले भने, ‘क्यान, पारस खड्का लगायतसमा लागेका सबैलाई धन्यवाद।’ आइसिसीबाट क्यान निलम्बन हुँदा नेपाली टोलीका प्रशिक्षक बनेका पटवालले एनपिएलले नेपाली क्रिकेटको मुहार फेर्ने समेत बताए। ‘यस्तो प्रतियोगिताले क्रिकेटलाई नै फेरिदिन्छ। एनपिएलको यो पहिलो वर्ष हो। सबैले सिकिरहेकै छन्। यही वर्ष नै हामी साह्रै धेरै अपेक्षा गरिरहेका छौँ। यसरी नै विकास भएर जाने हो भने नेपाललाई टेस्ट राष्ट्र हुनबाट कसैले रोक्न सक्दैन,' उनले भने।