काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ ।
अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो ।बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो ।बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ ।
यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो ।अघिल्लो बिहीबार बजार २६८२ अंकमा बन्द भएको थियो ।बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाँको भयो ।