काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हामीहरु भोटको राजनीति गरिरहेको बताएका छन् ।
मन्त्री दाहालले शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले भोटको राजनीति गरेकै कारणले हामीहरुलाई जनताले प्रश्न तेर्साउने गरेको बताएका हुन् । उनले भने ‘हामी त फेरी भोटको राजनीति गरिरहेका छौं । जनताले खै हाम्रो पुल बनेको ? खै मेरो बाटो बनेको भनेर प्रश्न तेर्साउने नै भए । एकातिर बजेटको अभाव छ भने एकातिर सिमित स्रोतसाधन छन् । तर अर्कोतिर धेरै जनताको आकांक्षाहरु रहेका छन् । जनताको मानसिकतामा हामी राजनीतिकर्मीहरुले परिवर्तन ल्याउनुपर्छ । नेताको आफ्नो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ, हामी सबै परिवर्तित हुनुपर्छ ।’
साथै उनले निर्माणका कार्यहरुमा सरकारको मात्र कमिकमजोरी नभएर निर्माण व्यवसायीको समेत कमीकमजोरी भएको बताए । उनले थुप्रै आयोजनाहरु निर्माण व्यवसायिले लिने तर निर्माण नगरि लथालिङ्ग अवस्थामा छोड्ने गरेको बताए ।उनले भने , ‘हाम्रो मन्त्रालयबाट भुक्तानी धेरै चुक्ता भैइसकेको छ । तर हामीले तथ्यांकमा धेरै विवाद गर्नु हुँदैन । अहिलेसम्म हामीले पहुँचका आधारमा माथिल्लो तहबाटै योजना छनोट गर्ने गरेका छौं । यसले काम हुन सकेन । त्यसैले अब तलबाट योजना छनोट गर्ने विधि आवश्यक छ, योजना छनोटमा सुधार आवश्यक छ ।’ उनले प्राथमिकताका आधारमा छनोट गरेर काम गरे मात्र निर्माण क्षेत्रको समस्यामा कमी आउने बताए । उनले भने, ‘योजना छनोटमा सरकारकै कमजोरी छ । आयोजनाहरु बेवास्ता गर्ने काम भइरहेको छ, प्राथमिकताका आधारमा आयोजना छनोट गर्न जरुरी छ । आयोजना मुलुकलाई प्रतिफल दिने खालका, उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ ।’