जनकपुर । जनकपुरधामका मधेशी युवाहरु आन्दोलित भएका छन् । शनिबार सम्पन्न एनपीएल खेल पश्चात काठमाडौंमा मधेशी समुदायका युवाहरुमाथि कुटपिट भएको घटनाप्रति विरोध जनाउँदै जनकपुरधामका मधेशी युवाहरुले जुलुस र नाराबाजी गरेका छन् ।
उनीहरुले प्रमुख जिल्लाअधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा विभिन्न पहाडी युवा समूहद्वारा काठमाडौंको त्रिवि गेट र परिसर वरपर मधेशी समुदायका युवा युवतीहरुमाथि हातपात, कुटपिट, गालिगलौच जस्ता घटनाप्रति सरकारले नेपालको संविधान र कानुन अनुसार यस्ता सम्प्रदायिक कार्यमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको माग गरिएको छ । साथै यस विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।
शनिबार सम्पन्न एनपीएलको खेलमा जनकपुर बोल्टस्ले जिते पश्चात मधेशी समुदायका युवाहरुमाथि कुटपिट भईरहेको र केही युवा घाईते भई अस्पताल भर्ना भएको फोटो र भिडियो सार्वजनिक भएको थियो । यस घटनाप्रति मधेशी आयोगले समेत ध्यानाकषर्ण गराउँदै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई घटनामा संलग्न समूहको पहिचान गरि दोषीलाई कारबाहीको लागि अनुरोध गरेको छ ।