बुटबल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको बताइन। काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउँन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधी खटिई क्रियाशील वितरण पनि अगाडि बढाएको बताइन् ।क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताइन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होईन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि काँग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताइन् ।
पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने बताइन । यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् ।संविधान संशोधनमा महिलाको अधिकार प्राप्तीका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउँनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउँनुपर्नेमा जोड दिइन् ।कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ लु्म्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।