काठमाडौं । राजेश हमालले आठ वर्षपछि पुनरागमन गर्ने चलचित्र ‘नरसिंहा अवतार’को प्रदर्शन मिति तय भएको छ ।
वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र निर्माता समेत रहेका निर्देशक दिवाकर भट्टराईले आगामी २९ चैतलाई फिल्मको प्रदर्शन मिति तय गरेका छन् ।यो मितिमा सौरभ चौधरीको ‘कर्मा’ र कृषा चौलागाईंको ‘पीताम्बर’ पनि आउँदैछन् । निर्देशक भट्टराईले घोषित मितिमा फिल्म आउने बताए । बदला र सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा ३१ वर्षपछि राजेश हमाल र सरोज खनालले स्क्रिन सेयर गर्दैछन् ।
यो फिल्ममा कलाकारमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरको पनि अभिनय छ ।क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र महर्जनसँगै ध्रुव न्यौपाने र दीपक ढकाल शर्माको निर्माण गरेका हुन् । निर्देशक भट्टराईले यसपछि ‘हनीबनी’ फिल्म प्रदर्शन हुने जनाएका छन् ।