Ekhab4r
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

हेटौंडा । गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा एकजनालाई पक्राउ गरेको हो । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ। पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार दुईवटा सरकारी नम्बर प्लेटको गाडीमा आएका समूहले पाँच राउन्ड गोली चलाएका थिए। घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यकरुपमा गोली चलाएका थिए । ‘सेनाले मान्छेलाई पूर्णरुपमा नियन्त्रणमा लिइसकेका थिए । तर, अनावश्यकरुपमा हवाइफायर गरे ।’, घटनाको प्रत्यक्षदर्शीले भने । सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयले लगाएका छन् । ‘पक्राउ गरेको मान्छे भाग्ने सक्ने सम्भावना नै थिएन । एकजनालाई ६–८ जनाले घेरेका थिए । यस्तो अवस्थामा सेनाले अनावश्यकरुपमा गोली प्रहार गरेर स्थानीयलाई क्रसित बनाए ।’, प्रत्यक्षदर्शीका अनुसार पक्राउ गरेको मानिसलाई बोरामा कोचेर राखिएको थियो ।

गोली चलेपछि स्थानीय त्रसित बनेका थिए । उनीहरुले सेनाको गाडीलाई रोकेर घटनाको विषयमा जानकारी लिन खोजेपछि सेनाले उल्टै उनीहरुमालाई नै बन्दुक तेर्साएका थिए । जसका कारण स्थानीयले उक्त गाडी जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहयोगमा नियन्त्रणमा लिएका थिए । स्थानीय र प्रहरीले गाडी नियन्त्रणमा लिएपछि सेनाको टोलीले स्थानीयसँग माफी मागेका थिए ।प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ, निकुञ्जका सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटा नेतृत्वको टोली खाक तस्करको आरोपीलाई पक्राउ गर्न हेटौंडा आएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update