Ekhab4r
कास्की जिल्ला अदालतमा रबि लामिछानेको बयान लिन शुरु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज(शुक्रबार) पनि कास्की जिल्ला अदालतमा बयान दिएका छन् ।  

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।  सम्भवतः लामिछानेको बयान आजै सकिने अदालत प्रशासनले गरेको छ ।  लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताए । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update