काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पीएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताएका छन् ।शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताएका हुन् । उनले भने, ‘पीएल दाई असाध्यै उदार हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई । पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्नुहुन्थ्यो । सरल व्यवहार गर्ने खालको हुनुहुन्थ्यो । ’
साथै उनले सिंह काठमाडौं महानगरको मेयर भइसकेपछि नेवार भाषालाई चलन चल्तीको भाषा बनाएको बताए । उनले काठमाडौं महानगरको कोषलाई सबैसँग समन्वय गरेर त्यसको आकार समेत बढाएको बताए । उनले भने,‘काठमाडौं महानगरपालिकाको मेयर भइसकेपछि उहाँले नेवारी भाषालाई चलनचल्तीको भाषा बनाउनुभयो । काठमाडौं महानगरको कोषलाई उहाँले दुनियाँसामु समन्वय गरेर त्यसको आकार बढाउनुभयो । महानगर बनाउनुभयो । करिडोरहरु उहाँले सबै सुरु गर्नु भएको हो ।’उनले काठमाडौंको रितीतिथि, संस्कृति र मन्दिर सबैलाई महानगरबाट सहयोग हुने नीतिगत व्यवस्था समेत पीएल सिंहले गरेको बताए ।