काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुने बताएका छन् ।
शनिबार दिगो पर्यटन सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्दै उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।उनले भने,‘हाम्रो कर्मचारी, सरकारमा रहेका हरेक व्यक्ति र प्रहरी प्रशासनले गर्ने जुन कामको तरिका छ त्यो तरिकाको शैली परिवर्तन गर्नुपर्छ । त्यसपछि मात्र विकास हुनसक्छ । नयाँ व्यवस्था र पूरानो व्यवस्थामा काम गर्ने तरिका मिलेको छैन । सरकारमा छौं सरकारमा जाने मान्छेहरु जुनसुकैले पनि आर्थिक सामाजिक रुपान्तरणका लागि काम गर्ने तरिका र नीतिगत तरिकाहरुमा ध्यान दिएको अवस्था छैन । अहिलेसम्म कुनै सरकारले ध्यान दिएको छैन ।’साथै उनले हाम्रो देशको कानून निर्माणहरु नै विग्रेको अवस्था भएको बताए । उनले राज्यले एउटा मात्र मुलभूत पोलिसीलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताए ।