Ekhab4r
व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरु अगाडि बढाउनुपर्छ - मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघको चौंथो वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  नेपालका उद्योगहरु जसरी सञ्चालन हुनुपर्ने हो हुन नसकेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।  ‘नेपालको उद्योग क्षेत्र जुन रुपमा सञ्चालन हुनुपर्ने हो भइरहेको छैन भन्ने तथ्यांकले पनि देखाइरहेको छ । अब स्थापना भइसकेका उद्योगलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने । व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरुलाई अगाडी बढाउनुपर्छ,’ उनले भने । 
त्यस्तै उनले शिक्षा नीतिमा पनि मन्थन गरेर समयको माग बमोजिम संशोधन गर्नुपर्ने धारणा राखे ।  शैक्षिक बेरोजगारको साख्या बढिरहेकोमा अहिले चिन्ता व्यक्त भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब शैक्षिक प्रमाणपत्रसँगै सिपको सर्टिफिकेट दिने काममा लाग्नुपर्नेमा जोड दिए । 
त्यस्तै, उनले अहिले देशमा युवाहरु बस्न चाहँदैनन् भनेर गलत भाष्य स्थापीत गर्ने काम भइरहेको बताए । 
‘अहिले देशमा कोही युवाहरु बस्नै चाहँदैनन् भनेर एउटा भाष्य बनाइएको छ । बस्नै नचाहने भनेर भाष्य मात्र विकसित गर्नेहरुको काम त सकियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘तर, समस्या समाधानका लागि सबैले जिम्मेवार भएर काम गर्नसक्नुपर्छ । यहाँ कस्तो छ भन्दा अधिकारको कुरा ठुलठुलो स्वरमा उठाउने अनि जिम्मेवारीको कुरा आउँदा सबै पछि पछि हट्ने । अनि कहाँ बाट समाज अगाडी बढ्छ ?’ उनले अधिकारसँगै सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update