काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् । सिरहाको लाहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिबार बिहान त्यहाँ पुगेका हुन् ।उनले मधेश आन्दोलनका कारण मधेशमा संघीयता स्थापना भएको दाबी गरेका छन् । मधेश आन्दोलनको क्रममा महतो सहित संघीयता, पहिचान, समावेशीकरण लगायत अधिकार प्राप्तीको लागि आन्दोलनमा आफ्नो बलिदानी दिएको उनले उल्लेख गरेका छन् । माघ ५ गतेका दिन मधेस सरकारले मधेस आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ ।
बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो । मधेस सरकारले सहिदहरुको परिवारलाई अभिनन्दनका साथै सहिदहरुको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने उनले बताए । मधेश प्रदेशका जिल्लामा शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ ।