सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो ।
यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।