काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यसमितिमा सदस्य मनोनयन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ ।
टानका अध्यक्ष रहेका सागर पाण्डेले कार्यसमितिको सहमति र माइन्युटमा अभिलेखीकरण नगरी मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको भन्दै विवाद भएको हो ।गत भदौमा आयोजित निर्वाचनमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डे कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका उम्मेदवारलाई हराउँदै अध्यक्षमा चुनिएका थिए ।उनले हालै विष्णु थापा, राजेन्द्र अमगाईं, नकुल देवकोटा, विष्णु बराकोटी र बासु रिमाल लगायतलाई टान सदस्यमा मनोनित गरेका थिए ।
एक महिला मनोनित हुन भने बाँकी छ ।टानको विधानमा अध्यक्षले ६ सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । यसरी मनोनित गर्दा प्रत्येक प्रदेश अनुसार प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ ।तर टानका सहकोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अध्यक्ष पाण्डेले स्थापित विधि र प्रक्रियालाई बेवास्ता गर्दै मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको आरोप लगाए ।‘टानको परम्परा र विधानमा आधारित प्रक्रियाअनुसार, मनोनित सदस्यहरूको नाम कार्यसमितिमा छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेपछि मात्र माइन्युटमा अभिलेख गर्ने र त्यसपछि शपथ ग्रहण गराउने व्यवस्था छ । तर, अध्यक्षबाट एकलौटी निर्णय भएपछि वरिष्ठ उपाध्यक्षसहित ११ जना सदस्यहरूले अध्यक्षको कदमको विरोध गरेका छौं ।’
के भन्छन् अध्यक्ष पाण्डे ?
टान अध्यक्ष पाण्डेले भने नियुक्ति अघि अर्को खेमाको नेतृत्वसँग छलफल समेत गरेको बताए । आफूले मनोनित गर्नेहरुको नाम मागेको तर दिन नसकेको जिकिर गरे ।‘म निरन्तर छलफलमा छु । कर्माजीले तीन जना सदस्य हामीलाई चाहिन्छ भन्नुभयो । मैले तीन होइन, दुई जनाको नाम दिनुस् भनें । त्यो पनि दिन सक्नु भएन । त्यसपछि मैले एकजना महिला सदस्य बाँकी रहेर अरु मनोनित गरें,’ अध्यक्ष पाण्डेले भने ।
विधानमा आफूलाई सदस्य मनोनित गर्ने अधिकार भए पनि आफू सबै पक्षसँग समन्वय गरेरै अघि बढ्न खोजिरहेको उनले बताए । धेरै कम्पनीहरु गण्डकी र बागमती प्रदेश अन्तर्गत दर्ता भएकाले सबै प्रदेशको प्रतिनिधित्व हुने गरी मनोनित गर्ने अवस्था भने नरहेको पाण्डेले जिकिर गरे ।सहकोषाध्यक्ष शेर्पाले सबै मिलेर संस्थाको हितका लागि सहकार्य गर्नुपर्ने बेला अध्यक्ष पाण्डेले अर्को समूहबाट निर्वाचित सदस्यहरूप्रति पूर्वाग्रह देखाएको आरोप लगाए । ‘मनोनित सदस्यहरूको क्षमता र योग्यताप्रति कुनै प्रश्न छैन, तर विधि–प्रक्रिया मिच्दा सहकार्यको वातावरण बिथोलिने हो कि भन्ने चिन्ता छ ।’