Ekhab4r
सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको छ । एक दिन पनि खाली छैनौं । जति पनि देखिएको छ त्यो भन्दा बढी नदेखेका कामहरु छन् । विश्वास गर्नु सहकारी क्षेत्रलाई आम जनताको विश्वासको क्षेत्र बनाउँछौ । यसलाई बिग्रिन दिदैनौ, यसमा हाम्रो प्रतिबद्धता हो ।’यसका साथै, उनले सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्न सक्ने बनाउनको लागि सरकार सँधै सहकार्य गर्न तयार रहेको पनि बताए । 

उनले भने, ‘असल काम, विचारको लागि सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्नसक्ने बनाउनका लागि हामी सँगै छौं । फरक छैनौ तर सरकारको पदाधिकारी भएको हुनाले कहिलेकाही कठोर बन्नुपर्छ ।अध्यादेशको कुरामा सरकारले चाहे जतिको स्टेक होल्डरहरुसँग छलफल गर्न नसकेको होला तर सरकारको आसय गलत छैन् । सरकारको काम समस्या समाधानतर्फ छ ।’सहकारीबाट मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने भन्दै सहकारी ऐनको परिमार्जनको चरणमा पनि रहेको उनको भनाइ छ । उनले अध्यादेशमा तत्काल मिलाउनुपर्ने कुराहरु मिलाउने र अन्य कुरा कानून परिमार्जन गर्दै जाँदा गर्ने पनि बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update