कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए ।
आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ । नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छोरा मोहितले बताए । ‘अहिले बुवाको अवस्था सामान्य छ,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १९:०७
प्रतिक्रिया दिनुहोस्