-1740115558.jpg)
काठमाडौँ । गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ । बाढी पहिरोबाट क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेटको स्रोत सहमति भएको हो । क्षतिग्रस्त राजमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत अवोनक गरेपछि सडक मर्मतको लागि बजेट सुनिश्चित गरिएको हो । सो क्रममा मन्त्री दाहालले वर्षाको बेलामा पनि सडक अवरुद्ध नहुने गरी काम गर्न निर्देशन समेत दिएका थिए ।
सो सडक निर्माणको लागि ९ अर्ब ६६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बीपी राजमार्गको भक्तपुर नेपालथोक खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँ सुनिश्चित गरिएको छ । दुवै सडक खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ । अस्थायी सडक पुनर्निर्माणका लागि बिपी राजमार्गको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने भएको छ । बाढीले क्षति पुर्याएको रोशीखोला क्षेत्रमा अहिले खोला किनारबाट अस्थायी सडक बनाइएको छ । बजेट प्राप्त भएकोले सडक निर्माणको काम तुरुन्त अघि बढ्ने सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।
बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निक्कै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।