काठमाडौ । बागमती प्रदेश सरकारले आज भने पूर्णता पाउने भएको छ। प्रदेश सरकारमा कांग्रेसका तर्फबाट चार जनालाई सपथ खुवाउँदै आजै मन्त्रिपरिषदले पूर्णता पाउने भएको हो । यसअघि बिहीबार सहमतिभन्दा एकजना बढी मन्त्री थप्न खोजेपछि सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद भएको थियो। केन्द्रीय तहमा सहमति भएपछि आज मन्त्रिपरिषद् १३ बाट १४ पुर्याउनेगरि कांग्रेसका तर्फबाट चार जनालाई मन्त्रीको सपथ गराउने तयारी भइरहेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय स्रोतले जनाएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले बिहीबार नियुक्त गरेका थप चारजना मन्त्रीहरुमध्ये एकजना परिवर्तन गरि आज सपथ गराउन लागिएको हो । मुख्यमन्त्री कार्यलय स्रोतका अनुसार बिहीबार आर्थिक मामिला मन्त्रिका रुपमा नियुक्त गरिएका तर सपथ लिन नपाएका प्रभात तामाङको स्थानमा हरिप्रभा खड्गीलाई सपथ गराउने तयारी भएको छ । तामाङ मन्त्रीको नियुक्ति पाएर पनि बाहिरिएका छन् भने खड्गीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवार दिने बताइएको छ । यस्तै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी यसअघि देखिनै दावी गर्दै आएका कुन्दन काफ्लेलाई दिने सहमति भएको पनि स्रोतले जनाएको छ ।
आज सपथ लिने अन्य मन्त्रीहरुमा, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी रहेका छन् । स्रोतका अनुसार लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने छ । यस्तै यसअघिनै गत बुधबार सपथ लिएका श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठको जिम्मेवार भने पछि तोकिने जनाइएको छ । गत बिहीबार कांग्रेसका तर्फबाट मन्त्रीहरुलाई सपथ गराउने तयारी अनुसार सपथ कार्यक्रमका लागि प्रदेश प्रमुख कार्यलयमा पुगेका दलका नेताहरुबीच निकैबेर छलफल भएपनि सहमतिमा पुग्न नसकेपछि सपथ कार्यक्रम स्थगित गर्दै दलका नेताहरु बाहिरिएका थिए । यस्तै जिम्मेवारीसहित मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरु गाडीसहित प्रदेश प्रमुख कार्यालय पुगेका पनि उनीहरु पनि मन्त्री बिनै फर्किएका थिए । झण्डा हालेर मन्त्री लिन पुगेका गाडीहरु झण्डामा कभर हालेर फर्किएका थिए ।