Ekhab4r
मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै मिस नेपाल वर्ल्ड आस्माले आफूलाई सपनाजस्तो लागिरहेको बताइन् । २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए ।

मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए ।‘ब्युटी विथ पर्पस’को विधा मिस नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते ।

उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकरसहितका ११ जना जजको रुपमा थिए । यसवर्षको संस्करणमा मिस नेपालको ३० औं वर्षगाँठ सेलिब्रेसन गरिएको थियो ।

समारोहको सुरुवात प्रथम मिस नेपाल रुवी राणाको मन्तव्यसँगै सुरु भएको थियो । तीन दशक लामो यात्रामा मिस नेपालले ल्याएको सामाजिक र लैंगिक परिवर्तनको चर्चा गर्दै राणाले आफ्नो अनुभव सुनाएकी थिइन् ।फिनाले समारोहमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । सहाना बज्राचार्य होस्ट रहेको समारोहमा २०२३ का मिस नेपालको ब्याच सृच्छा प्रधान, प्रसिद्धी शाह र रेना मजगैयाँ को-होस्ट थिए ।

द हिडन ट्रेजरको आयोजना भएको समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिती थियो । मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि फिनालेमा सहभागि थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update