काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् । उनीहरुले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
‘यो आन्दोलनलाई हाइज्याक हुन नदिन हामी नागरिकलाई आह्वान गर्दछौं’, विद्यार्थीहरुले भनेका छन् । विद्यार्थीहरुले अन्तरिम सरकारका लागि प्रस्तावित नामहरु चाँडै सार्वजनिक गरिने पनि बताएका छन् ।यहीबीच नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।
उनका प्रवक्तालाई उधृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने भनिएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले स्रोतलाई उदृत गर्दै युनुसको भनाइ लेखेको छ, ‘जब मलाई विद्यार्थीको तर्फबाट सम्पर्क भएको थियो, त्यसबेला मैले स्वीकारेको थिइनँ । मैले धेरै काम गर्न बाँकी छ भनेको थिएँ । तर, विद्यार्थीहरुले पटक पटक मलाई अनुरोध गरे ।’
उनले ‘विद्यार्थी र देशका नागरिकहरुले धेरै त्याग गरेको’ भन्दै आफू जिम्मेवारी लिन तयार रहेको बताएको द डेली स्टारले उल्लेख गरेको छ ।उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए ।युनुस बंगलादेश छाडेकी प्रधानमन्त्री शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । ८४ वर्षीय उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।गरिबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरेर उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । त्यसका लागि प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकलाई सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको भन्दै जेल सजाय सुनाएको थियो । तर, उनले यो आरोप राजनीति प्रेरित भएको भन्दै आलोचना गरेका थिए ।हसिनाले सोमबार राजीनामा दिएर देश छाडेर गएपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन अग्रसरता लिएको छ । तर, अहिलेसम्म कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो लागि सकेको छैन ।स्वतन्त्रता आन्दोलनका सेनानीहरुका परिवारलाई आरक्षणको दिने निर्णयविरुद्ध दुई महिनादेखि चलेको आन्दोलनका क्रममा कम्तिमा ३ सय जनाले ज्यान गुमाएका छन् ।