काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ ।
सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो ।स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ ।
विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको स्रोतले बतायो । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने स्रोतको भनाइ छ ।
समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो ।त्यस्तै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ ।प्रहरीले चलाएको सहकारी ठगीका मुद्दा समेत अध्ययन गरेको छानबिन समिति सभापति सूर्य थापाले बताए ।
‘सहकारी विभागमा रजिस्ट्रारको सरुवा छिटोछिटो हुने रहेछ । पूर्व रजिस्ट्रारसँग पनि छलफल गरेका छौं,’ थापाले भने, ‘सहकारी पीडितसँग पनि छलफल भयो । सहकारी क्षेत्रको भक्तिगान धेरै गरिएछ ।’कमजोर कानुनी व्यवस्था बनेको, कानुनमा व्यवस्था भएर पनि कर्जा सूचना केन्द्र र सुरक्षण कोष न्यायाधीकरण कुनै पनि बन्न नसकेको जस्ता विषय देखिएको उनले बताए ।
‘अहिले भएका संरचनालाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिन्छ,’ थापाले भने, ‘सहकारीको बचत फिर्ता भएका उदाहरण पनि छन् । गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यलाई बोलाएर कसरी ५ अर्ब फिर्ता गरेको भन्ने विषयमा पनि छलफल गर्यौं ।’ओरेन्टलका निलम्बित अध्यक्ष सुधीर बस्नेत, साझा सहकारी संस्थापक विश्वबन्धु थापासँग समेत छलफल गरेको उनले बताए ।