स्विट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो
काठमाडौं - साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक/एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो । स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्